कास्की जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आवद्ध सदस्य संस्था र व्यवस्थापकलाई प्रदान गरिने उत्कृष्टताको सम्मान स्वरुप यस बर्ष गौरीशंकर साकोस र आस्था साकोसका व्यवस्थापक नारायण प्रसाद आचार्यलाई सम्मानित गरेको छ । बचत संघले २०७४ सालबाट बखान उत्कृष्ट सहकारी अवार्ड र राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कार तथा सम्मानको कार्यक्रम शुरु गरेको हो । संघको पौष २९ गते शुक्रबार सम्पन्न २२औं बार्षिक साधारणसभाका अवसरमा प्रमुख अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गौरीशंकर साकोसलाई बखान उत्कृष्ट सहकारी अवार्ड, २०७९ र आस्था साकोसका व्यवस्थापक नारायण प्रसाद आचार्यलाई राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कार, २०७९ बाट सम्मानित गर्नुभएको थियो । संघका पुर्व अध्यक्ष भीम गुरुङकाे परिकल्पना तथा बचत संघका निर्वतमान अध्यक्ष सुदिप ढकालले शुरु गर्नुभएको सो अवार्ड २०७४ सालदेखि प्रदान गर्न थालिएको भएपनि बीचका दुई बर्ष कोभिडका कारण रोकिएको संघका अध्यक्ष भेषराज बरालले जानकारी गराउनुभयो । संघले शुरुको बर्ष २०७४ सालमा फेवा बचत तथा ऋण सहकारी संस्था लि. लाई बखान उत्कृष्ट सहकारी अवार्ड र पोखरा रोयल साकोसका प्रमुख प्रवन्धक मिलन ढकाललाई राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कारबाट सम्मानित गरेको थियो । त्यसैगरी २०७५ सालमा बखान उत्कृष्ट सहकारी अवार्डबाट जनसेवा साकोस र राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कारबाट संगम साकोसका व्यवस्थापक अपिल कोइरालालाई सम्मानित गरिएको थियो । २०७८ सालमा राईफाईसन उत्कृष्ट सहकारी व्यवस्थापक पुरस्कारबाट फेवा साकोसका व्यवस्थापक हरिभक्त पौडेल र बखान उत्कृष्ट सहकारी अवार्डबाट संगम साकोसलाई पुरस्कृत गरिएको थियो । संघले राईफाईसन उत्कृष्ट व्यवस्थापक पुरस्कार राशी रु. ५ हजार र सम्मान तथा कदर पत्र र बखानसिंङ उत्कृष्ट सहकारी अवार्डमा दोसल्ला तथा प्रशंसा पत्र प्रदान गर्ने गरेको छ । पौष २९ गते सम्पन्न संघको २२औ वार्षिक साधारणसभा संघका अध्यक्ष भेषराज बरालको सभापतित्व तथा नेफ्स्कूनका महासचिब दामोदर अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।